वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ९,५०० रुपैयाँ, आजदेखि कार्यान्वयन
१० मंसिर, काठमाडौं — सरकारको पुरानो निर्णय कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क आजदेखि ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ८ चैत २०८१ मा गरेको मन्त्रीस्तरीय निर्णय विवादका कारण तत्काल लागू न भए पनि अन्ततः स्वास्थ्य व्यवसायीहरूले आजदेखि शुल्क बढाएका हुन्।
यसअघिसम्म श्रमिकले स्वास्थ्य परीक्षणका नाममा ६ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्थ्यो। नयाँ संरचनाअनुसार स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन सरकारको निर्देशनअनुसार ३४ प्रकारका परीक्षण अनिवार्य गरिएका छन्।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले आफ्ना सदस्य संस्थालाई पत्राचार गर्दै नयाँ शुल्क लागू गर्न तथा सरकारले तोकेका सबै परीक्षण अनिवार्य रूपमा गर्न आग्रह गरेका छन्।
विभागीय मन्त्री पद खाली रहेको समयमा व्यवसायीहरूले आफैंले निर्णय लागू गरेका कारण पुनः विवाद बढ्न सक्ने संकेत देखिएको छ। तर महासंघले सबै परीक्षण डिजिटलाइजेशनमार्फत पारदर्शी र व्यवस्थित बनाउने कार्य मन्त्रालयले निरन्तर अगाडि बढाइरहेको दाबी गरेको छ।
शुल्क वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिकको आर्थिक भार बढाउने चर्चा भइरहेकाबेला स्वास्थ्य परीक्षणको गुणस्तर भने कत्तिको सुधार हुने हो भन्नेप्रति व्यापक ध्यान केन्द्रित भएको छ।