पथलैयामा जेनजी र स्थानीय प्रशासनबीच वार्ता सफल, मागहरू सम्बोधन गर्न सहमति
५ मंसिर, बारा । बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार जेनजी समूह र स्थानीय प्रशासनबीच भएको वार्ता सफल भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा जेनजी पक्षबाट सम्राट उपाध्यायको नेतृत्वमा १८ सदस्य सहभागी थिए।
वार्तामा जेनजीले राखेका प्रमुख मागहरू– घटनामा संलग्न व्यक्तिहरूलाई पूर्वाग्रहबिनै कारबाही गर्ने, घाइतेहरूको निःशुल्क उपचार तथा उचित क्षतिपूर्तिको व्यवस्था राज्यले गर्ने, जेनजी तथा समर्थकहरूको सुरक्षाको सुनिश्चितता, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने अधिकारीविरुद्ध कारबाही, र घटनामा तीन दिनअघि सम्मको कल डिटेलमार्फत मुख्य दोषीलाई अनुसन्धान दायरामा ल्याउने विषय– सम्बोधन गर्ने सहमति भएको हो। साथै नाम छुटेका व्यक्तिहरूलाई पनि दोबारा अभियुक्त बनाएर कारबाही अगाडि बढाउनुपर्ने मागसमेत राखिएको थियो।
छलफलका क्रममा जेनजी अगुवा सुदन गुरुङ र पुरुषोत्तम यादव वार्ता स्थलमा पुगेर एमाले कार्यकर्ताले योजनाबद्ध रूपमा जेनजीमाथि हातपात गरेको दाबी गरे। “हाम्रो सुरक्षामा लापरबाही भएको छ, झडप कसले योजनाबद्ध रूपमा गरायो त्यसको कडा कारबाही हुनुपर्छ,” गुरुङले भने।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जेनजीले दिएको उजुरीका आधारमा दोषीहरूको खोजी भइरहेको र कसैलाई पनि उन्मुक्ति नदिइने बताए। “पीडितलाई क्षतिपूर्ति र कानुनी उपचार उपलब्ध गराइन्छ, अनुसन्धान निष्पक्ष छ,” उनले भने।
प्रमुख जिल्ला अधिकारी मिश्रले जेनजीको मागलाई स्थानीय प्रशासनले गम्भीर रूपमा लिएर छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
बुधबार बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको थियो। बिहीबार प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।