दुर्गम मल्कवाङमा पहिलोपटक बस पुगेपछि स्थानीयमा खुसीयाली
म्याग्दी, १४ मंसिर — भौगोलिक रूपमा विकट मानिने धवलागिरि गाउँपालिका–५ मल्कवाङमा इतिहासमै पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर ध१ख ३०८ नम्बरको बस शनिबार मल्कवाङ पुगेपछि स्थानीयले अबिर, माला र उत्साहका साथ स्वागत गरेका हुन्। बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई वडाध्यक्ष अमर छन्त्यालसहित स्थानीय अगुवा, आमा समूह तथा युवा क्लबका प्रतिनिधिले स्वागत गर्दै खुसी बाँडे।
वडाध्यक्ष छन्त्यालका अनुसार मल्कवाङ २०७८ सालमा सडक सञ्जालमा जोडिएको भए पनि यहाँ जिप, ट्याक्टर र मोटरसाइकल मात्रै चल्ने गरेका थिए। गाउँपालिकाले वर्षायाममा अवरुद्ध हुने सडक मर्मत, ग्रेड मिलाउने तथा घुम्ती चौडा गर्ने काम गरेपछि बस चलाउन सकिने वातावरण बनेको हो। पाँच वर्षपछि बस गुड्न थालेपछि स्थानीयले जिपको तुलना बढी सस्तो र सहज यात्राको अनुभव पाएका छन्। पहिले मल्कवाङ–बेनी यात्रामा प्रतिव्यक्ति रु १,००० भाडा तिर्नुपर्नेमा अब बसमा रु ७५० मै यात्रा गर्न पाउने व्यवस्था गरिएको छ।
बेनी–मल्कवाङ दूरी ४५ किलोमिटर रहेको छ। बस सेवा सुरु भएपछि मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ र घण्टीवाङका तीन सयभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष छन्त्यालले बताए। म्याग्दी यातायात प्रालिले बेनीबाट बिहान ७ बजे र मल्कवाङबाट बिहान ८ बजे गरी दैनिक एक–एक वटा बस सञ्चालन गर्ने जनाएको छ।
यसअघि स्थानीयले पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्नुपर्ने बाध्यता थियो। गाउँपालिकाले मल्कवाङ–भेडिखाल्टालाई सडक सञ्जालमा जोड्न चालु आर्थिक वर्षमै योजना अघि बढाउन तयारी गरेको छ। यसका लागि धवलागिरि गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ।
गण्डकी प्रदेश सरकारले पनि मलिका गाउँपालिकाको बिमलुरवाङ–मराङबेँसी–अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिमा बहुवर्षीय योजना अन्तर्गत चालु आवमा रु १ करोड विनियोजन गरेको छ। प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त परियोजनाको कुल लागतको २० प्रतिशत मान्दै करिब रु ५ करोड स्रोत सुनिश्चित गरेर बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार सडक स्तरोन्नति पूरा भएपछि मल्कवाङ तथा आसपासका बस्तीमा यातायात सेवा झनै सहज हुँदै स्थानीयको दैनिक जीवनयापनमा ठूलो परिवर्तन आउनेछ।