सरकारले जनेजी घाइतेलाई राहत दिने, नर्वे–स्वीटजरल्याण्डबाट अनुदान स्वीकार्ने निर्णय
काठमाडौँ – सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ले मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरे।
बैठकले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने गरी अध्यागमन नियमावलीमा संशोधन गर्ने र सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठको नियुक्ति गर्ने निर्णय पनि गरेको छ।