नेप्से २५४० अंकमा झरे, कारोबार रकम सामान्य बढ्यो
काठमाडौं, ३० कात्तिक — साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंकले घटेको हो। दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो भने दिउँसो २:५३ बजे नेप्से न्यूनतम २५३३ अंकसम्म पुगेको थियो।
आज ७४ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको घट्यो र १४ कम्पनीको मूल्य स्थिर रह्यो।
बजार घट्दा पनि कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।
समूहगत सूचकमा भने होटल तथा पर्यटन ०.१८%, उत्पादन तथा प्रशोधन ०.०२%, र अन्य समूह ०.७२% ले बढेका छन्। बैंकिङ ०.३०%, विकास बैंक ०.५२%, फाइनान्स ०.८७%, हाइड्रोपावर ०.४९%, लगानी ०.३४%, जीवन बीमा ०.१२%, माइक्रोफाइनान्स ०.३८%, निर्जीवन बीमा ०.४९% र व्यापार ०.१०% ले घटेका छन्।
तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। हालै सूचीकृत सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, नबिल डिबेन्चर २०८५ को ९.९१% र नबिल डिबेन्चर २०८९ को ६.९०% मूल्य बढेको छ।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १०% ले घटेको छ। रुरु जलविद्युत् ९.५२%, दरामखोला हाइड्रोपावर ६.०९%, पिपुल्स हाइड्रोपावर ५.२३% र माबिलुङ इनर्जी ४.३७% ले मूल्य घटेको छ।
आज धेरै कारोबार भएका धितोपत्रमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहेका छन्।