सरकार र दुर्गा प्रसाईं समूहबीच आज मन्त्रीस्तरीय वार्ता हुँदै
काठमाडौं । सरकार र विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहबीच आज (बुधबार) मन्त्रीस्तरीय वार्ता हुँदैछ । वार्ता गृह मन्त्रालयमा हुने भएको हो ।
प्रसाईं स्वयं वार्तामा सहभागी नहुने भए पनि उनको समूहका प्रतिनिधिहरू सहभागी हुँदैछन् । समूहका माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी र मकबुल साह लगायत वार्तामा सहभागी हुने तयारीमा छन् ।
समूहका प्रतिनिधि खतिवडाले अनलाइनखबरसँग भने, “हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन गृह मन्त्रालय जाँदैछौं । प्रधानमन्त्रीस्तरीय वार्तामा दुर्गा दाइ (प्रसाईं) स्वयं बस्नुहुन्छ, तर आजको वार्तामा हामी सहभागी हुँदैछौं ।”
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पनि प्रसाईं समूहसँग वार्ता तय भएको पुष्टि गरेका छन् । वार्ताको सहजीकरण अधिवक्ताद्वय लवन न्यौपाने र विनोदमणि भट्टराईले गरिरहेका छन् ।
दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत चैत १५ गते तीनकुनेमा भएको उनको नेतृत्वको प्रदर्शन हिंसात्मक बनेको थियो, जसमा तोडफोड, आगजनी र लुटपाटजस्ता घटना भएका थिए ।
यसपटक प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरी आन्दोलनको तयारी थालेका छन् । कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा आयोजित कार्यक्रममा उनले आन्दोलनमा सहभागी हुन उक्साउने अभिव्यक्ति दिएका थिए ।
सुरक्षा निकायका अनुसार प्रसाईं समूहको गतिविधि हिंसात्मक हुनसक्ने आकलनसहित निगरानी बढाइएको छ । यही महिनामा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूले पनि प्रसाईंको गतिविधि सम्बन्धमा छलफल गरेका थिए ।