अनलाइन सर्भर समस्यापछि पीएम कार्कीको आयोगलाई म्याद–व्यवस्था सुधार आग्रह
२८ कात्तिक, काठमाडौं। मतदाता नामावली दर्ताका लागि अनलाइन आवेदन दिने क्रममा सर्भर बारम्बार अवरुद्ध हुनु थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले समस्या समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले शुक्रबार आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनबाट कुराकानी गर्दै अनलाइनबाट नाम दर्ता गर्दा सेवा रोकिने अवस्थालाई तत्काल सुधार गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेकी हुन्।
मतदाता नामावली अनलाइन दर्ता प्रणाली सुरू भएदेखि नै सेवाग्राहीको अत्यधिक चाप देखिएको छ। कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूका लागि अनलाइनमार्फतै आवेदन दिन सुविधा दिएको थियो। तर, आवेदनकर्ताको चाप अत्यधिक बढेपछि अनलाइन सर्भर अवरुद्ध भएर सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।
प्रधानमन्त्री कार्कीले सर्भरको क्षमता अभिवृद्धि गर्दै अनलाइन सेवा सहज बनाउन आवश्यक कदम चाल्न आयोगलाई निर्देशनसमेत दिएकी छन्।
यसैबेला, उनले नाम दर्ताका लागि तोकिएको समयावधि पनि थप गर्न आग्रह गरेकी छन्। आयुक्त भण्डारीले पाँच दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले बताएका छन्।
आयोगले हाल मतदाता नाम दर्ताको अन्तिम मिति ३० कात्तिक तोकेको छ। तर, लगातार बढिरहेको भीडका कारण आयोगले पाँच दिन म्याद थप्ने तयारी गरिरहेको आयोग स्रोतले जनाएको छ।