सुनसहित पक्राउ परेका स्टेवार्ड सन्देश तिवारी निलम्बित
काठमाडौँ, १४ मंसिर।नेपाल वायुसेवा निगम (नेवानि) ले विमान परिचालक (स्टेवार्ड) सन्देश तिवारीलाई कार्यसम्पादनबाट निलम्बन गरेको छ। २७ नोभेम्बरमा दोहा–काठमाडौं उडान आरए २४० का क्रममा तिवारीको साथबाट १ सय ग्राम (करिब साढे ८ तोला) सुन बरामद भएको पुष्टि भएपछि उनीविरुद्ध छानबिन अघि बढाइएको निगमले जनाएको छ।
दोहा विमानस्थलमा भन्सार पदाधिकारीले गरेको सोधपुछ तथा खानतलासीका क्रममा तिवारीले सुन बोकेको तथ्य उजागर भएको थियो। घटनापछिको प्रक्रिया दोहास्थित स्टेशन म्यानेजरको रोहवरमा पूरा गरिनुपरेको र त्यसका कारण उडान झण्डै ३०–३५ मिनेट ढिलाइ भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।
नेवानिका अनुसार चलिरहेको छानबिन पूरा नहुँदासम्म, वा अधिकतम तीन महिनासम्म, कानुनी प्रावधानअनुसार तिवारी निलम्बनमा रहनेछन्। निगमले घटनालाई गम्भीर अनुशासनहीनता तथा सुरक्षासम्बन्धी उल्लङ्घनका रूपमा लिँदै थप अनुसन्धान अगाडि बढाएको छ।