एनपीएलमा म्याच फिक्सिङ र बेटिङ आरोपमा १० जना पक्राउ, कारोबार २ करोड ५ लाख
काठमाडौं, ८ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ र म्याच फिक्सिङको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ९ भारतीय र १ नेपाली महिला रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, उनीहरूको कारोबार विवरण हेर्दा करिब २ करोड ५ लाख रुपैयाँ पुगेको देखिएको छ।
पक्राउ परेकामध्ये दुई जनामाथि खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोप छ। म्याच फिक्सिङको प्रस्ताव दिलप्रित सिंह र रेविका सिंह ठकुरीले गरेका हुन्। बाँकी आठ जना केवल बेटिङमा संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैको अनुसन्धान जारी रहेको छ।