मधेस प्रदेशले बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने निर्णय
१० मंसिर, जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरी बेरोजगार रहेका युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय भएको जानकारी दिएका छन्।
प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ देखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण बेरोजगार युवालाई मासिक दुई हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराइनेछ। प्रदेशमा करिब एक लाख ५० हजार बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको छ।
बैठकमा किसान राहतको पनि निर्णय भएको छ। प्रदेशमा खडेरी र डुबानबाट धानबालीमा क्षति पुगेका किसानलाई प्रतिकट्ठा एक हजार ५०० रुपैयाँको दरले राहत दिइने छ। यसमा ३६ करोड रुपैयाँ किसान राहत र ३५ करोड रुपैयाँ बेरोजगार भत्तामा खर्च हुने अनुमान गरिएको छ।
मुख्यमन्त्री यादवले लामो समय खडेरी र असोजको अविरल वर्षाबाट प्रभावित मधेस प्रदेशका किसानहरूलाई राहत दिने प्रक्रियामा रहेको जानकारी दिएका छन्।