सात दलीय गठबन्धनद्वारा मधेशको सर्वदलीय बैठक बहिष्कार
२९ कात्तिक, जनकपुरधाम ।
मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज दिउँसो ३ बजे आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलका नेताको हैसियतमा बैठकमा सहभागी हुने जानकारी पाएपछि गठबन्धनले विरोधस्वरूप बैठकमा नजाने निर्णय गरेको हो।
बैठकमा मुख्यमन्त्री यादव भने उपस्थिति भएका छन्।
जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवका अनुसार असंवैधानिक ढंगले नियुक्त भई होटलमा सपथ ग्रहण गरेका मुख्यमन्त्री सहभागी हुने भएकाले गठबन्धनले बैठक बहिष्कार गर्ने निर्णय लिएको हो। उनका अनुसार विवादित नियुक्तिबारे सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ अझै बाँकी रहेकाले यस्तो अवस्थामा मुख्यमन्त्री उपस्थित बैठक मान्य नहुने गठबन्धनको धारणा छ।
गठबन्धनले प्रदेश सरकारको संवैधानिकता र प्रक्रियागत शुद्धता सुनिश्चित नगरी गरिएको यस्तो बैठक प्रतिगामी कदम भएको आरोप लगाउँदै बैठकमा सहभागी नहुने अडान जनाएको छ।