स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान
२३ कात्तिक, काठमाडौं — स्वर्णलक्ष्मी सहकारी ठगी मामिलाका आरोपी ज्ञानबहादुर बम्जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
सिन्धुली दुधौलीका बम्जन २४ भदौमा जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए। उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त तथा मुख्य आरोपी जीबी राईका जेठान रहेको प्रहरीले जनाएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा समेत बम्जनको संलग्नता देखिएको थियो र सोही मुद्दामा अदालतले १० लाख धरौटीमा रिहा गरेको थियो।
फरार अवस्थामा रहेका बम्जनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले २३ कात्तिकमा सोह्रखुट्टेबाट पुनः पक्राउ गरेको हो। आइतबार अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी परिसरले जनाएको छ।