बल्खुमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका टहरा महानगरद्वारा हटाइयो
११ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित टहरा महानगरले बिहीबार डोजर प्रयोग गरी हटाएको छ।
बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुमवासीहरूले वर्षौँदेखि बनाइरहेका अस्थायी टहराहरू महानगरले भत्काएको हो। महानगरका अनुसार यी संरचनाले विद्यालयको नियमित सञ्चालनमा अवरोध सिर्जना गर्दै सार्वजनिक जग्गा कब्जा गरिएको थियो।
यद्यपि प्रभावित परिवारहरूले आफूहरूलाई बसोबासका लागि वैकल्पिक व्यवस्था नगरिकन टहरा हटाइनुले अन्याय भएको प्रतिक्रिया दिएका छन्।
महानगरले भने काठमाडौंभित्रका अनधिकृत संरचना हटाउने निरन्तर अभियानअन्तर्गत बल्खु क्षेत्रमा रहेका अतिक्रमित टहराहरू भत्काइएको जनाएको छ।