काठमाडौं बसपार्कमा भेटिएको शव २० वर्षीया माया मगरको भएको पुष्टि, कुक सूर्य थापालाई पक्राउ
काठमाडौं, २४ नोभेम्बर – काठमाडौंको गोंगबुस्थित बसपार्कमा पोकोमा बेरी फ्याँकिएको शव २० वर्षीया माया भनिने आयुषा मगरको भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार माया मगरको हत्या गत कात्तिक २६ गते भएको थियो। उनको शव शनिबार टोखा नगरपालिका वडा नम्बर ९ चक्रपथ नजिक फेला परेको थियो। शव करिब ११ दिनसम्म सडकमै सडिसकेको अवस्थामा भेटिएको थियो।
प्रहरीले अनुसन्धानको क्रममा नयाँ बसपार्क नजिकैको रोयल पुम्बला होटलमा प्रयोग भएका तकिया र तन्नाको आधारमा २४ वर्षीय सूर्य थापालाई पक्राउ गरेको छ। थापाले हत्या गरेको कुरा स्वीकारिसकेका छन्। उनी उक्त होटलका कुक रहेका थिए।
प्रहरीका अनुसार माया र सूर्यबीच करिब १५ दिनअघि मात्र चिनजान भएको थियो। माया ब्राउन सुगर किन्नका लागि सूर्यसँग ५०० रुपैयाँ मागेकी थिइन्। पैसा फिर्ता नदिएपछि विवाद बढ्दा सूर्यले जुत्ताको तुनाले घाँटीमा कसेर उनको हत्या गरेका थिए।
एसपी भट्टराईले भने, “मायाको शव फोहोर फ्याँक्ने प्लास्टिक र प्याजको बोरामा राम्रोसँग र्याप गरेर फ्याँकिएकोले दुर्गन्ध फैलिन पाएन। हत्या सूर्य एक्लैले गरेको स्वीकारेको छ।”
प्रहरी घटनाको थप अनुसन्धान जारी राखिरहेको छ।