सल्यानको बरलामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु, नगरप्रमुखको सन्देश प्रेरणादायी
सल्यान, मंसिर २। सल्यानको शारदा नगरपालिका-६, बरलामा सामुदायिक विपद् प्रतिकार्य तथा आपतकालीन (CADRE) तालिम सुरु भएको छ। चार दिने उक्त तालिम स्थानीय समुदायलाई विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्न सक्षम बनाउने उद्देश्यका साथ मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
Ipas Nepal को सहयोग तथा दलित विकास संघ (DDS) को आयोजनामा सुरु भएको यो तालिम विपद् व्यवस्थापनमा स्थानीय सक्षमता बढाउन महत्त्वपूर्ण कदम मानिएको छ।
मंसिर २ गतेबाट सुरु भएको तालिममा रुकुम र सल्यानका विभिन्न स्थानबाट आएका प्रशिक्षक तथा शिक्षार्थी गरि जम्मा ३१ सक्रिय सहभागिता रहेको छ। तालिमको उद्घाटन समारोहमा शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, उपप्रमुख, सुस्मिता सापकोटा, DDS का कार्यकारी निर्देशक विनायक रेग्मी, DDS का अध्यक्ष हेमराज विश्वकर्मा सशस्त्र प्रहरी गुल्म सल्यानका गुल्मपति समीर गौतम, रेडक्रसका मन्त्री इन्द्र शर्मा, कार्यक्रम संयोजक आदर्श अधिकारी लगायत सरोकारवालाहरूको उपस्थिति थियो।
नगरप्रमुखको प्रेरणादायी सन्देश: “कर्तव्य र इमानदारी नै ठूलो सम्पत्ति”
उद्घाटन समारोहलाई सम्बोधन गर्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सहभागीहरूलाई पद र अधिकारभन्दा कर्तव्य, जिम्मेवारी तथा कर्मको महत्वमा जोड दिन आग्रह गर्नुभयो। उहाँको सन्देश निकै प्रेरणादायी रह्यो।
“हामी सबैले कहिलेकाहीँ रिस उठाउँछौं, भावना चल्छन्, तर त्यसले सार्वजनिक सम्पत्ति नष्ट गर्ने अधिकार दिन्दैन,” नगरप्रमुख भण्डारीले भन्नुभयो, “रिस उठे मलाई व्यक्त गर्नुहोस्, तर सरकारी संरचना, विद्यालय भवन, सडक जस्ता विकासका काममा क्षति पुर्याउने काम कोही नगर्नुहोस्। समाजलाई अघि बढाउन सबैले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ।”
मेयर भण्डारीले उदाहरणसहित जनश्रमदानको शक्ति पनि स्पष्ट पार्नुभयो: “हामीले २०–३० लाख खर्च लाग्ने विद्यालय भवन जनश्रमदानमार्फत मात्र ३-४ लाखमा निर्माण गरेका छौं। यसले देखाउँछ, पैसा वा पदको ठूलो महत्व छैन, तर मेहनत, इमानदारी र समुदायप्रति जिम्मेवारीको महत्व धेरै छ।”
नगरप्रमुख भण्डारीले कर्तव्य, इमानदारी र सामाजिक उत्तरदायित्वलाई जीवनको सबैभन्दा ठूलो सम्पत्ति भन्दै तालिम सहभागीहरूलाई स्थानीय स्तरमा सिकाइ बाँड्न र समुदायको पहिलो उद्धारकर्ता बन्न प्रेरित गर्नुभयो। साथै, उहाँले तालिमका सहभागीहरूलाई खैराबाङ मन्दिर भ्रमणका लागि सवारी सुविधा उपलब्ध गराउने घोषणा पनि गर्नुभयो।
तालिमको उद्देश्य: स्थानीयलाई 'पहिलो उद्धारकर्ता' बनाउने कार्यक्रमका वक्ताहरूले विपद्का समयमा स्थानीय समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले साना प्राथमिक प्रतिकार्य सीपले पनि ठूलो जोखिम र क्षति घटाउन सक्नेमा जोड दिएका छन्।
DDS का अध्यक्ष हेमराज बिकले यो तालिमले सल्यानमा हुने विपद् अवस्थाको प्रभाव न्यूनिकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी गुल्मका गुल्मपति समीर गौतमले आधारभूत प्रतिकार्य ज्ञानले जीवन र धनजनको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
DDS का कार्यकारी निर्देशक विनायक रेग्मीले रेडक्रस र अन्य अनुभवी प्रशिक्षकहरूको सहयोगमा यो तालिमले प्राथमिक प्रतिकार्य उपायहरू सिकाइ जोखिम कम गर्न सक्षम बनाउने उल्लेख गरे।
चार दिने तालिममा विपद्- पूर्व तयारी, प्राथमिक प्रतिकार्य, उद्धार, समन्वय र जोखिम न्यूनीकरणका विषयमा गहन प्रशिक्षण दिइँदैछ। आयोजकहरूले तालिमको सफल समापनपछि स्थानीय समुदाय विपद् व्यवस्थापनमा सक्षम, सजग र आत्मनिर्भर बन्ने अपेक्षा राखेका छन्।
