बस्नेतको आरोप : ‘अलोकतान्त्रिक सरकारका समर्थक अलोकतान्त्रिक गतिविधिमा सक्रिय
काठमाडौं – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले वर्तमान सरकार अलोकतान्त्रिक भएको र सरकारबाट समर्थित समूहहरू अलोकतान्त्रिक तथा अराजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।
युवा संघको ‘कोशी जागरण सभा’मा सहभागी हुन सुनसरी जाँदै गर्दा बाटोमै दुई युवाले उनको गाडी रोक्न खोज्दै रातो बेलुन फ्याँकेपछि बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘सरकार अलोकतान्त्रिक भएकाले यसको पक्षमा उभिएका पनि त्यस्तै गतिविधिमा लागेका छन्,’ बस्नेतले भने, ‘यस्तो काम लोकतन्त्रको उपहास हो।’
उनले फरक विचार भए शान्तिपूर्ण तरिकाबाट कुनै पनि राजनीतिक कार्यक्रम गर्न सकिने भन्दै हिंसात्मक वा अवरोधकारी शैली अस्वीकार्य हुने स्पष्ट गरे।
‘विरोध गर्न मन छ भने भाषण गर, नारा लगाऊ,’ उनले भने, ‘ढुंगा हान्ने र बाटो छेक्ने काम राम्रो होइन। भोलि शान्तिपूर्ण रूपमा सभा गरेर विरोध गरे हुन्छ।’
बस्नेतले आफू विभिन्न राजनीतिक शासनकाल पार गरेर आएको भन्दै हिंसात्मक विरोधले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने दाबी पनि गरे।