नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनबाट ९ प्रस्ताव पारित
काठमाडौँ, १९ कात्तिक । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ। बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त राष्ट्रिय सम्मेलनमा नेता वर्षमान पुनले ती प्रस्तावहरू प्रस्तुत गरेका थिए। सम्मेलनले घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ।
संयुक्त सम्मेलनले पहिलो प्रस्तावमा एकता प्रक्रियामा सहभागी दलहरूको एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको घोषणा गरेको छ। दोस्रो प्रस्तावमा पार्टीको निर्वाचन चिन्ह “पाँच कुने तारा” रहने निर्णय गरिएको छ।
तेस्रो प्रस्तावअनुसार एकतामा सहभागी सबै दलका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन्। चौथो र पाँचौँ प्रस्तावमा पार्टीका केन्द्रीय संरचना र संगठनात्मक समायोजनका काम संयोजक र सहसंयोजकको परामर्शमा पूरा गर्ने उल्लेख गरिएको छ।
छैटौँ प्रस्तावमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत दलका नाममा निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुने निर्णय गरिएको छ।
सातौँ प्रस्तावमा एकतामा सामेल दलहरूको चल–अचल सम्पत्ति र बैंक खाताको स्वामित्व अब नयाँ पार्टीको हुने उल्लेख छ। आठौँ र नवौँ प्रस्तावमार्फत पार्टीको अन्तरिम विधान र घोषणापत्र सर्वसम्मत रूपमा पारित गरिएको छ।