मियाबारीको रेखा खोलामा शव फेला, दुई जना पक्राउ
झापा– बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। स्थानीयले गएराति खोलामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।
अनारमनी इलाका प्रहरी कार्यालयका डिएसपी विजय श्रेष्ठका अनुसार फेला परेको शव बिर्तामोड–६ का ५२ वर्षीय आनन्द चौधरीको भएको पुष्टि भएको छ। घटनास्थलमा पुगेर प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेको र शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए।
घटनाबारे अनुसन्धानकै क्रममा सोही क्षेत्रका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। दुवै जनामाथि घटनाको कारण र संलग्नताबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।