नेपाल प्रहरीको टोली इन्टरपोल महासभामा सहभागी भएर स्वदेश फिर्ता
काठमाडौं, १४ मंसिर – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको नेपाली प्रतिनिधि टोली इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ देखि ११ गतेसम्म सम्पन्न ९३औं इन्टरपोल महासभामा सहभागी भई आइतबार स्वदेश फिर्ता भएको छ।
महासभामा अन्तर्राष्ट्रिय अपराध रोकथाम र न्यूनीकरणसम्बन्धी नीति निर्माण, कार्यकारिणी समितिका रिक्त पदमा निर्वाचन, तथा इन्टरपोलका महत्त्वपूर्ण विषयमा मतदानसमेत गरिएको थियो। नेपालले पनि मतदानमा सक्रिय रूपमा भाग लिएको थियो। यस महासभाबाट फ्रान्सका लुकाउ फिलिपे इन्टरपोलको नयाँ अध्यक्षमा चयन भएका छन्।
प्रतिनिधि टोलीले इन्टरपोलका अध्यक्ष र महासचिवसँग शिष्टाचार भेटघाट गरेसाथै कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गरी अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको थियो। टोलीमा इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्कासमेत सहभागी थिए।