प्रभु म्यानेजमेण्टका पूर्व सहायक लेखा प्रमुख महाजु सीआईबीको नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ।
ललितपुरको गोदावरी–३, टौखेलबाट पक्राउ परेका महाजुमा हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोप लागेको छ। ठाकुर प्रसाद मानन्धर लगायतका व्यक्तिले दिएको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा उनलाई अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा प्रभु म्यानेजमेण्टको नाममा सञ्चालित सिटिजन्स बैंकको खातामा बारम्बार ९ लाख ९९ हजार ५०० रूपैयाँसम्मका शंकास्पद रकम विभिन्न व्यक्तिहरूको नामबाट जम्मा भएको पाइएको छ। रकम एकै दिन पटक–पटक खातामा जम्मा भएको र रेमिट कारोबारको आवरणमा अवैध रुपमा मिलान गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार महाजु उक्त बैंक खाताका सञ्चालकमध्ये एक थिए र बैंकको लेखा शाखामा कार्यरत रहँदा अवैध कारोबारमा प्रत्यक्ष संलग्न भएको प्रारम्भिक प्रमाण भेटिएको छ। महाजुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको आर्थिक सीआईबीले जनाएको छ।