तनहुँ पूर्वाधार विकास कार्यालयले एक वर्षमा १७९ योजना सम्पन्न
तनहुँ — पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ७९ योजना सम्पन्न गरेको जनाएको छ। गत आर्थिक वर्षमा जिल्लाका १० पालिकामा सञ्चालनमा रहेका यी योजना विभिन्न लागत र प्रकारका रहेका कार्यालय प्रमुख रविन्द्र तिवारीले जानकारी दिए।
कार्यालयका अनुसार १० लाखसम्मका १६, १०–२० लाखका ५३, २० लाखदेखि २ करोडसम्मका ९६, २–५ करोडसम्मका १० तथा ५ करोडमाथिका ४ योजना सफलतापूर्वक सम्पन्न भएका छन्। पालिका अनुसार शुक्लागण्डकीमा ३४, व्यासमा ३८, भानुमा ३०, भिमादमा २६, म्याग्देमा १२, आँबुखैरेनीमा १२, बन्दीपुरमा १३, देवघाटमा ५, घिरिङमा ६ र ऋषिङमा ३ योजना सम्पन्न भएका छन्।
कार्यालय मातहत ‘एक निर्वाचन क्षेत्र–एक सडक’ परियोजनाअन्तर्गत चार सडक निर्माणाधीन छन्— भानु–चन्द्रावती, दुलेगौडा–हर्कपुर, आँबु–भाँगे–छिम्केश्वरी र सोही मार्गको दोस्रो खण्ड। प्रादेशिक 'ख' वर्गअन्तर्गत शालिग्राम–२, ढोरवाराही सडक, बुद्धसिंह मार्ग, सिन्धु मार्ग, कृष्ण मार्ग, श्रृङ्गपथ, सहिद लालध्वज मार्ग तथा दमौली–केशवटार–सुखौरा–बन्दीपुर सडकमा निर्माण कार्य जारी छ।
अन्य निर्माण कार्यक्रममध्ये एक सय २९ मध्ये ५३ सडक निर्माण, १५ मध्ये १० सडक–पुल निर्माण तथा पाँचमध्ये तीन झोलुङ्गेपुल निर्माणाधीन अवस्थामा रहेका छन्।
केही योजना समयभन्दा अगाडि नै सम्पन्न गर्न सफल कार्यालयले व्यास–५ रानीटारीदेखि म्याग्दे–४ घुम्ती जोड्ने नौ किलोमिटर रानीटारी–घुम्ती सडक ३६ करोड ६२ लाख ९१ हजार ५४ को लागतमा २०८१ फागुन ९ मा नै पूरा गरेको छ। मानपुर–डेढगाउँ–बुलिङटार सडक २६ करोड १ लाख ५७ हजार ९२३ को लागतमा २०८१ पुस ६ मा कालोपत्र भएको छ। शालिग्राम कोरिडोरको दोस्रो खण्ड १७ करोड ६९ लाख ३३ हजार ३०१ को लागतमा २०८१ मंसिर ३० मा सम्पन्न भएको छ।
सडक पुलतर्फ क्याङ्दी खोलामा निर्माण भएको पुल ५ करोड ५७ लाख ९२ हजार ८६६ लागतमा २०८२ जेठ २० मा पूरा भएको छ। भिमाद–१ डुम्रीवेशीमा ७ करोड ५३ लाख ६४ हजार ३८२ लागतमा तथा चुँदीखोलामा १० करोड १० लाख ९१ हजार ९६६ लागतमा पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।