सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका ७ मन्त्रीले सम्पत्ति विवरण बुझाए, ३ जना बाँकी
काठमाडौं, कात्तिक २७ – जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषदका ७ मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। यद्यपि तीन जना मन्त्रीहरूले अझै आफ्नो विवरण बुझाउन बाँकी राखेका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार ७ मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेको छ, जबकि ३ मन्त्री अझै विवरण बुझाउन बाँकी छन्।
सुशीला कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् र त्यसपछि ३० भदौमा पहिलो तीन मन्त्रीको नियुक्ति भएको थियो। यी मन्त्रीहरूमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री कुलमान घिसिङ थिए। यीमध्ये गृहमन्त्री अर्याल र अर्थमन्त्री खनालले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्, तर ऊर्जामन्त्री घिसिङले अझै बुझाएका छैनन्।
त्यसपछि ६ असोजमा चार जना नयाँ मन्त्रीहरू नियुक्त भएका थिए – उद्योग मन्त्री अनिलकुमार सिन्हा, शिक्षा मन्त्री महावीर पुन, कृषि मन्त्री मदनप्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल। यीमध्ये सञ्चारमन्त्री खरेलले पनि सम्पत्ति विवरण बुझाउन बाँकी छ।
अन्तिम मन्त्रिपरिषद् विस्तार ९ कात्तिकमा भएको थियो, जसमा स्वास्थ्य मन्त्री सुधा शर्मा गौतम र युवा मन्त्री बब्लु गुप्ता नियुक्त भएका थिए। खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्, तर स्वास्थ्य मन्त्री गौतमले अझै बुझाएका छैनन्।
प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार सम्पत्ति विवरण प्राप्त गर्ने प्रक्रिया जारी रहेको र सबै विवरण प्राप्त भएपछि सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ।