यूएईका शिक्षण संस्थाबाट ठगीमा परेका नेपाली विद्यार्थीको विवरण संकलन सुरू
११ मंसिर, काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई)का विभिन्न शिक्षण संस्थाबाट ठगीमा परेका नेपाली विद्यार्थीहरूको विवरण संकलन प्रक्रिया सुरू भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले पीडित विद्यार्थीको उजुरीका आधारमा आवश्यक कारबाही अघि बढाउन विवरण संकलन थालिएको जनाएको छ।
यूएईका ‘फ्रि जोन’ क्षेत्रमा सञ्चालनमा रहेका विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूले विश्वविद्यालयको मान्यता प्राप्त डिग्री दिने भन्दै विद्यार्थीलाई आकर्षित गर्ने तर प्रत्यक्ष पहुँचपछि ठगीमा परेको पुष्टि हुने घटनाहरू बढेपछि सरकारले पहल थालेको हो। लाखौँ रुपैयाँ तिरेर विदेशिएका विद्यार्थीलाई आधारभूत भौतिक संरचना नै नभएका, अपार्टमेन्टमा भाडामा कक्षा सञ्चालन गर्ने, अनलाइन क्लास मात्र चलाउने, विदेशी विश्वविद्यालयसँग आबद्ध भएको दाबी झुटो हुने जस्ता गुनासा बढ्दै आएका छन्।
यी समस्याबारे यूएईस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयमा पटक–पटक उजुरी परेपछि विभागले ठगीमा परेका विद्यार्थीहरूलाई अनलाइनमार्फत विवरण पेश गर्न अनुरोध गरेको हो।
हाल यूएईमा रहेका वा कोर्स अधूरो छोडेर नेपाल फर्किएका, रोजगारीको प्रतिबद्धता पूरा नभएका, कक्षा सुचारु नभएका तथा नेपालका शैक्षिक परामर्श केन्द्रबाट गलत सूचना पाएका विद्यार्थी सबैलाई फारम भरी पठाउन आग्रह गरिएको छ। विद्यार्थीहरूले उपलब्ध क्यूआर कोड वा अनलाइन लिंकमार्फत १५ दिनभित्र विवरण पेस गर्नुपर्नेछ।