बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथ पाटनको तःबहाल मन्दिरमा
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्गमतीबाट आज विधिवत् रूपमा पाटनको तःबहाल मन्दिरमा ल्याइएकाछन्। प्रत्येक वर्ष ६–६ महिनाका हेरचाह चक्रअनुसार बुङ्गमती र पाटनमा राखिने परम्परा अनुसार आज मच्छिन्द्रनाथलाई विशेष साइतमा तःबहालमा स्थापना गरिएको हो।
गुठियारहरूले तय गरेको साइतअनुसार बिहानै बुङ्गमतीमा पूजापाठ सम्पन्न गरिएको थियो। त्यसपछि गुरुज्यूको पल्टनले सलामी अर्पण गरेपछि आठ जना पुजारी (पानेजु) ले सुरक्षाकर्मीको साथमा खटमा बोकेर मच्छिन्द्रनाथलाई पाटनतर्फ ल्याए। काठमाडौँ उपत्यकाका श्रद्धालुहरू बाजागाजासहित ठूलो संख्यामा यस धार्मिक यात्रामा सहभागी भएका थिए।
किंवदन्तीअनुसार कुनै समय काठमाडौँ उपत्यकामा १२ वर्षसम्म वर्षा नपरी भीषण अनिकाल परेको थियो। गोरखनाथ भिक्षा माग्न आएका बेला कान्तिपुरवासीले अवहेलना गरेपछि रिसमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाई काबुमा पारेका थिए। नवनागकै कारण वर्षा रोकिएको विश्वास रहिआएको छ। समाधान खोज्ने क्रममा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई ल्याएमा वर्षा पुनः हुने थाहा पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर भारतको कामारु–कामाक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याएको भनाइ छ।