जेनजी आन्दोलनको हतियारसहित तीन जना पक्राउ
९ मंसिर, विराटनगर — जेनजी आन्दोलनको क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना झापाका र एक जना इलामका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले लागूऔषध कारोबारीको खोजी गर्ने क्रममा लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको हो। सुरुमा दमक–८ का २५ वर्षीय सरोज पुरी पक्राउ परेका थिए, जसको कोठाबाट रानीपोखरीबाट लुटिएको टाइप–५४ पेस्तोल, म्याग्जिन र १५ राउण्ड गोली बरामद भएको थियो।
पुरीको बयानका आधारमा २९ वर्षीय विश्व लिङ्देनलाई घरबाटै पक्राउ गरियो। सोधपुछमा उनले पेस्तोल इलामका साथी पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको बताए। इलामको चुलाचुली–४ मा पवन हाङसुङ्वाको बारीमा लुकेको पेस्तोल र ५ राउण्ड गोली बरामद गरिएको छ। पेस्तोलमा माटोमा गाडिएर राखिएको कारण खिया लागेको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार तीनै जना लागुऔषध प्रयोगकर्ता जस्तो देखिन्छन्। बरामद भएको हतियार, गोलीसहित तीनै जनालाई कारबाहीका लागि काठमाडौं पठाइएको छ।