जापानिज इन्सेफलाइटिसबाट नवलपरासीमा चार जनाको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ ।
गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।
मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए । ‘सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ’ उनले भने , ‘नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ ।’
जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले सङ्क्रमितमध्ये नौ जना पूर्णरुपमा निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिए ।