तिहारमा विद्युत् माग घट्ने , प्राधिकरण आपूर्ति व्यवस्थापनमा तयारीमा
यस वर्षको तिहारमा विद्युत्को माग घट्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारका बेला औद्योगिक क्षेत्र, होटल र रेस्टुरेन्टहरू बन्द हुने भएकाले समग्र बिजुली खपत घट्ने अनुमान छ।
पछिल्ला केही वर्षयता तिहारमा घरायसी खपत बढे पनि औद्योगिक क्षेत्र बन्द हुँदा समग्र माग घट्ने प्रवृत्ति देखिएको सिलवालले बताए। उनले भने, 'पहिले तिहारमा डिमान्ड बढ्थ्यो, अहिले घट्छ, यसको कारण इन्डस्ट्रीहरू बन्द हुनु हो।'
यद्यपि, तिहार र छठ पर्वलाई लक्षित गर्दै विद्युत् आपूर्तिलाई पर्याप्त र नियमित बनाउन प्राधिकरणले सबै तयारी पूरा गरेको छ। सिलवालका अनुसार अहिलेको विद्युत् प्रणाली पहिलेको जस्तो कमजोर छैन, त्यसैले तिहारको समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणको छ।
नियमित आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछन् र वितरण लाइन, सबस्टेशन तथा मर्मत कार्यमा आवश्यक पूर्वतयारी गरिएको छ।