‘भागिसके’ भनिएका दीपक खड्का जलेको घरबाट सार्वजनिक
पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का सोमबार बिहान बूढानीलकण्ठस्थित जलेको घरबाट सार्वजनिक भएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भागिसके’ भनेको भोलिपल्टै उनी पत्रकारहरूसँग घरमै संवाद गर्दै देखिए।
भदौ २४ गते प्रदर्शनकारीहरूले खड्काको घर जलाएका थिए। खड्काका अनुसार सो दिन घरमै खाना खाँदै गर्दा आगजनी भयो। त्यसपछि सुरक्षाकर्मीको आग्रहमा छिमेकीको घर हुँदै राति सेनाले सुरक्षित स्थानमा लगेको र केही दिनपछि बूढानीलकण्ठमै बसेको बताए।
डेंगी भएपछि भारतको मेदान्त अस्पतालमा ११ दिन उपचार गराएको र अहिले श्रीमती र छोरा त्यहीँ रहेको पनि उनले बताए।
घरमा भेटिएको रकमबारे खड्काले दसैंका लागि राखिएको २० र ५० रूपैयाँका नयाँ नोटहरू प्रदर्शनकारीले उडाएको दाबी गरे। उनले आफ्नो व्यवसायिक पृष्ठभूमिअनुसार केही पैसा हुनु अस्वाभाविक नभएको बताए।
सरकारले ‘भागेको’ भन्ने प्रचार गलत भएको भन्दै खड्काले कुनै वारेन्ट वा निषेधाज्ञा नभएको स्पष्ट पारे।