गोपाल योञ्जनका कृतिको संग्रह अमेरिकाको कर्नेल युनिभर्सिटीलाई प्रदान
कालजयी गायक, संगीतकार तथा नाटककार गोपाल योञ्जनका महत्वपूर्ण कलाकृतिको संग्रह अमेरिकाको न्यूयोर्कस्थित कर्नेल विश्वविद्यालयलाई प्रदान गरिएको छ ।
योञ्जनकी पत्नी रेन्चिनले दस्तावेजीकरण गरिएका ती कलाकृति निःशुल्करुपमा विश्वविद्यालयलाई प्रदान गरेकी हुन् । विश्वविद्यालयको दक्षिण एसिया संग्रहमा योञ्जनका ती कलाकृतिको संरक्षण र संवद्र्धन गरिने जनाइएको छ ।
‘युनिभर्सिटीको साउथ एसिया कलेक्सनमा गोपाल योन्जनका कृतिहरूको संरक्षणले नेपाली सङ्गीतलाई विश्वस्तरमा प्रस्तुत गर्दछ’ योञ्जनकी छोरी सिर्जनासिंहले सामाजिक सञ्जालमा लेखेकी छन् ।
कर्नेल युनिभर्सिटीलाई योञ्जनका महत्वपूर्ण र ऐतिहासिक दस्तावेज प्रदान गरेको जानकारी दिँदै सिर्जनाले यसले कृतिको संरक्षण र डिजिटलाइजेसन सुनिश्चित गर्ने जनाएकी छन् ।
संसारभरका अनुसन्धानकर्ता, विद्यार्थी र कलाकारको लागि संग्रहमा पहुँच हुने तथा यस संग्रहले भारतीय, बंगलादेशी र श्रीलंकाली कृतिसँगै नेपालको धनी संगीत परम्परालाई पनि उजागर गर्ने उद्देश्य लिइएको छ ।
कृतिको दीर्घायु र पहुँच सुनिश्चित हुने कुरामा उनले जोड दिएकी छन् ।
‘ गोपाल योन्जनका कृतिहरूको संरक्षणले राष्ट्रिय सम्पदालाई जोगाउँछ, अध्ययन र प्रेरणाको स्रोत प्रदान गर्दछ, र नेपाली सङ्गीतलाई विश्व सांस्कृतिक र शैक्षिक परिदृश्यमा स्थान दिन्छ’ सिर्जनाले भनेकी छन्, ‘कोर्नेल युनिभर्सिटीले यी कृतिमार्फत नेपाली सङ्गीतको विगत, वर्तमान, र भविष्यलाई भावी पुस्ताका लागि सुरक्षित राख्नेछ ।’