विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’ले जित्यो उत्कृष्ट केनाइन अवार्ड
हवाई मार्ग हुँदै तस्करी हुने लागुऔषधको खोजीमा सक्रिय घुङ्ग्रु नामको कुकुरले यस वर्षको उत्कृष्ट केनाइन (कुकुर) अवार्ड पाएको छ ।
हरेक वर्ष कुकुर तिहारको दिन प्रहरीले अपराध अनुसन्धानमा सक्रिय कुकुरमध्येबाट उत्कृष्ट कुकुर छनोट गर्दै आएको छ । लागुऔषध गाँजाको खोजी तथा पहिचानमा सक्रिय घुङ्ग्रुले यस वर्षको उत्कृष्ट कुकुरको अवार्ड पाएको हो ।
नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जका प्रवक्ता तथा डीएसपी चेतनारायण ज्ञवालीले विनमानस्थलमार्फत तस्करी हुने गाँजाको पहिचान गरी पक्राउ गर्न सहयोग गर्ने घुङ्ग्रुले अवार्ड जितेको बताए ।
४ चैत २०७४ मा जन्मिएको घुङ्ग्रु जर्मन सेफर्ड जातको कुकुर हो । यसको विशेषज्ञता लागुऔषधको खोजी एवं पहिचानमा छ । विगत ७ वर्षदेखि लागुऔषध पहिचानमा खटिएको घुङ्ग्रुले हवाई मार्ग हुँदै विमानस्थलमा भित्रिएको लागुऔषधको पहिचान गरेको थियो ।