सभामुखले बोलाएको पुनःस्थापना छलफल बैठकमा चार दल अनुपस्थित
काठमाडौँ, २९ असोज — प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजना गरेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित चार राजनीतिक दल अनुपस्थित भएका छन्।
सभामुखले १० राजनीतिक दललाई बैठकका लागि आह्वान गरे पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा नेपाल) मात्र सहभागी भएका हुन्।
अनुपस्थित रहने दलहरूमा रास्वपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्। सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार बैठकमा १० दललाई बोलाइएको भए पनि ६ दलका प्रतिनिधिहरू मात्रै उपस्थित थिए।
प्रतिनिधिसभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला सभामुख घिमिरेले राजनीतिक दलहरूको धारणा संकलन गर्न बैठक बोलाएका हुन्।
बैठकमा सहभागी भएका नेताहरूमा कांग्रेसका श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका ज्ञानबहादुर शाही, जसपा नेपालकी रेखा यादव र नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे छन्।
सभामुख घिमिरेले यही सन्दर्भमा आगामी बिहीबार कानुन व्यवसायीहरूसँग छुट्टै बैठक आह्वान गरेका छन्।