बिपिन जोशीको मृत्यु पुष्टि, हमासले चार इजरायली बन्दीका शव आज हस्तान्तरण गर्ने
काठमाडौं, असोज २७ – हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशी को मृत्यु पुष्टि भएको छ।
हमासको सशस्त्र शाखा अल-कसम ब्रिगेड्सले एक विज्ञप्ति जारी गर्दै मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको शव आज (सोमबार) हस्तान्तरण गरिने जानकारी दिएको हो।
यो शव हस्तान्तरण इजरायल र हमासबीचको मानवता आधारित सम्झौताअन्तर्गत हुन लागेको बताइएको छ, जसअनुसार इजरायलले केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ।
यसअघि हमासले गाजामा रहेका सबै २० जीवित इजरायली बन्दीहरूलाई रिहा गरिसकेको छ। तर, अझै पनि केही मृत बन्दीका अवशेषहरू उसकै नियन्त्रणमा रहेको बताइएको छ।
इजरायली अधिकारीहरूले यस सम्झौता अनुसार हमासले मृतक बन्दीहरूका शवहरू फिर्ता गर्नु अनिवार्य रहेको बताएका छन्।
बिपिन जोशी, सुदूरपश्चिमको अछामका निवासी, गत वर्ष २०८० कात्तिक १९ गते हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा हराएका थिए। उनी इजरायलमा अध्ययानरत थिए।
नेपाल सरकारले हालसम्म जोशीको मृत्यु पुष्टि गरेको छैन। तर, हमासको आधिकारिक सूचनासँगै अब नेपाली पक्षबाट औपचारिक प्रतिक्रिया अपेक्षित गरिएको छ।