जेनजी आन्दोलनमा दाङ अदालतबाट जोगिएकी सहायक हवल्दार संगीता विशेष बढुवामा सम्मानित
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङमा सम्भावित आगजनी र तोडफोड हुनबाट जोगाएकी प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाई एक तह विशेष बढुवा गरिएको छ।
७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले अधिकारीको विशेष योगदानको कदर गर्दै उनलाई सम्मानस्वरूप विशेष बढुवा गरेको हो। उनीलाई प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
त्यसैगरी, आन्दोलनका क्रममा घाइते भएका प्रहरी र सर्वसाधारणको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका काठमाडौंको महाराजगञ्ज प्रहरी वृत्तका असइ हेमबहादुर विकलाई पनि एक तह विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।