विद्युतीकरणमा ढिलाइ : दार्मा गाउँपालिकाको पहलमा प्राधिकरणमा ध्यानाकर्षण पत्र
सल्यान जिल्लाको पूर्ण विद्युतीकरणको कार्यमा भइरहेको चरम ढिलासुस्ती र लापरवाहीका कारण स्थानीयवासीको आक्रोश बढेको छ। लामो समयदेखि पुर्ण बिधुतकरण निर्माणको प्रतीक्षा गरिरहेका दार्माका समुदायले आज जनस्तरबाट सशक्त दबाब सिर्जना गरेका छन् ।
दार्मा गाउँपालिका अध्यक्ष निमा बहादुर के.सी.को अगुवाइमा स्थानीयवासीहरूको एक विशाल समूहले नेपाल विद्युत वितरण केन्द्र सल्यानमा नारा-जुलुससहित प्रदर्शन गर्यो । प्रदर्शन पश्चात् अध्यक्ष के.सी.कै नेतृत्वमा कार्यालय प्रमुखलाई विद्युतीकरण कार्यमा देखिएको समस्या र ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै सशक्त ध्यानाकर्षण पत्र बुझाइएको छ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट ठेक्का पाएका कम्पनीहरूले प्राविधिक कारण र प्रदेश कार्यालयसँगको समन्वय अभाव देखाउँदै काम रोकेका कारण जिल्लाको विद्युतीकरण कार्यले गति लिन सकेको छैन।
गाउँपालिका अध्यक्ष के.सी.ले भने, “हामीले पटकपटक अनुरोध गर्यौँ, सूचना जारी गर्यौँ, जिल्लामा सरोकारवालाहरु राखेर बैठक गर्यौ, तर काम अघि बढेको छैन। स्थानीयवासीहरू लामो समयदेखि पुर्ण बिधुतिय निर्माणको आशामा बस्न बाध्य छन्। हामीले आज दबाब दिएका छौँ, अब तत्काल आवश्यक सामाग्री उपलब्ध गराएर युद्धस्तरमा काम सुरु गरिनुपर्छ। अन्यथा हामी थप कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ।”
यस ध्यानाकर्षण पत्रपछि प्राधिकरण बितरण केन्द्र सल्यानका ईन्जिनियर दिनेश पौडेलले विद्युतीकरण कार्यमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म कामले गति भने लिन सकेको छैन। गाउँपालिकाले सम्पूर्ण सरोकारवालाहरूलाई तत्काल समन्वय गरी सल्यान जिल्लालाई उज्यालोमा जोड्ने कार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ।
