ओली–प्रचण्डको सन्देश: नेतृत्व चयनमा बाह्य हस्तक्षेप स्वीकार्य छैन
काठमाडौँ, कात्तिक २ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी नेतृत्व चयनबारे समान विचार सार्वजनिक गरेका छन्।
आइतबार काठमाडौं र ललितपुरमा भएका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै दुवै नेताले पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा बाह्य हस्तक्षेप होइन, कार्यकर्ता र सदस्यहरूको निर्णय नै निर्णायक हुने धारणा राखेका हुन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पत्रकारहरूको उत्तराधिकारीसम्बन्धी प्रश्नमा कटाक्ष गर्दै भने,
> "पार्टीको नेतृत्व सम्पादकले छान्ने भए त पोहोर परार नै छानिसक्थे ! नेतृत्व त कार्यकर्ताले छान्ने हो।"
उनले एमालेभित्र नेतृत्व दिनसक्ने सयौं नेता र लाखौं कार्यकर्ता रहेको दाबी गर्दै भने,
> "केन्द्रीय तहमा काम गरेका सयौं नेता छन्। नेतृत्वको अभाव छैन। अहिले पार्टीभित्रको धारणा के छ भने – केपी ओली नै क्याप्टेन हुन्।"
ओलीले नेपाली क्रिकेट टोलीको हालैको सफलता उदाहरण दिँदै भने,
> "यदि म नखेल्ने हो भने अर्काे क्याप्टेन आउँछ। तर अहिलेको अवस्था र धारणा के छ भने, म नै क्याप्टेन हो।"
**प्रचण्डको प्रष्ट सन्देश : 'पत्रकार होइन, कार्यकर्ताको अधिकार'
उता, ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वबारे निर्णय गर्ने अधिकार पत्रकार वा बाह्य पक्षसँग नभएको उल्लेख गर्दै भने,
> "को पार्टीको नेतृत्वमा हुनुहुन्छ, को हुनुहुँदैन भन्ने निर्णय पत्रकारले गर्ने होइन, सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने हो।"
दुबै नेताको यो समान र स्पष्ट अभिव्यक्ति अहिले देशको राजनीतिक नेतृत्वमा देखिएको भविष्यप्रतिको बहसबीच आएको छ।
ओली र प्रचण्ड दुवैले नेतृत्वको विषयमा ‘भित्रबाट निर्णय होस्, बाहिरबाट होइन’ भन्ने सन्देश दिएका छन् – जसले पार्टी आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिनुपर्ने धारणा बलियो बनाएको देखिन्छ।