प्रहरी स्थापना दिवसमा कलाकार किरण केसी सम्मानित
नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन् । नक्सालस्थित मुख्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरे ।
ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर सात दोबाटो र प्रहरी प्रभाग इमाडोलको पुनर्निमाणको नेतृत्व गरेबापत केसीलाई सम्मानित गरिएको हो ।
जेनजी आन्दोलनको क्रममा ती प्रहरी कार्यालयमा क्षति पुगेको थियो । आफूलाई सम्मान प्रदान गरेकोमा खुसी हुँदै उनले भने, ‘भवन निर्माणको श्रेय कार्यसमिति सदस्य र पवित्र मन भएका संघसंस्थालाई दिन चाहन्छु, प्रहरीलाई धेरै धेरै धन्यवाद ।’
सातदोबाटोस्थित ट्राफिक प्रहरीका कार्यालय ९९ प्रतिशत सम्पन्न भएको र सात दोबाटो वृत्तको पुनर्निमाणको काम करिब ५ प्रतिशत बाँकी रहेको केसीले बताए ।
उनले भने- ‘जनता र प्रहरीको सहकार्य भयो भने सेवा सहज बनाउन सकिन्छ भन्ने उदाहरण यो पुनर्निमाणले देखाएको छ ।’