सल्यानमा रास्वपाको प्रशिक्षण कार्यक्रम सम्पन्न, शारदा नगर कमिटी गठन
सल्यान, २९ भदौ २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक सशक्तिकरण अभियान अन्तर्गत शुक्रबार सल्यानको शारदा नगरपालिका–२ खलङ्गा चोकमा एकदिने प्रशिक्षण कार्यक्रम तथा नगर कमिटी गठन गरेको छ।
जिल्ला सभापति प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा कर्णाली प्रदेश महामन्त्री ललित चन्दको पनि सहभागिता रहेको थियो।
प्रशिक्षणका क्रममा पराजुलीले पार्टी सभापति रवि लामिछानेको 'स्पष्ट सन्देश' लिएर आएको उल्लेख गर्दै रास्वपा देशभर न्याय र सुशासनको लागि सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमकै अवसरमा भक्त कुमार बस्नेतको नेतृत्वमा १० सदस्यीय शारदा नगर कमिटी गठन गरिएको छ। नवनिर्वाचित कमिटीले स्थानीय जनसमस्यामा आवाज उठाउने र संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने जिम्मेवारी पाएको छ।
जिल्ला सभापति नेपालीका अनुसार, जेन-जि आन्दोलनपछिको राजनैतिक सुस्तता तोड्दै रास्वपा सल्यानमा पुनः सक्रिय बन्दै गएको छ। उनका अनुसार, सांगठनिक विस्तारले सल्यानको राजनीतिमा रास्वपाको उपस्थिति थप मजबुत बनाउने संकेत देखिएको छ।
