वीरगञ्जका घरघरमै ढल मिसिएको पानी ले गर्दा एक महिनासम्म रोकिएन हैजा
काठमाडौं । खुला ढलमा कुहिएको फोहोर मिसिएको धमिलो पानी बगेको छ । प्लास्टिकका खोल र लेउ भरिएको दुर्गन्धित त्यही ढलमा डुबेको छ खानेपानीको पाइप । नालामा बगिरहेको दूषित पानी पाइपमा मिसिएर घरघरमा पुगिरहेको छ ।
यो पर्सा जिल्लाको यथार्थ हो, जसले एक महिनाभन्दा लामो समय हैजा महामारीको संकट बेहोरिरहेको छ ।
नालामुनि दबिएको खानेपानीको पाइपमा हैजाको घातक जीवाणु मिसिएको छ । जसले पर्सावासीको जीवनमा कहर मच्चाइरहेको छ ।
पिउने पानीमा मिसिएको दूषित ढलका कारण जिल्लाभर हैजाको प्रकोप रोकिएको छैन । एक महिनादेखि जारी समस्याका कारण अहिलेसम्म १ हजार ५८७ जना बिरामी अस्पताल पुगिसकेका छन् ।
अहिले ५ जना बिरामीको आईसीयू र दुईजनाको एचडीयूमा उपचार भइरहेको छ । त्यस्तै २८ जनाले जनरल वार्डमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २० जना हैजा संक्रमित थपिएका छन् ।
पर्सामा ६ भदौमा पहिलो पटक झाडापखालाका बिरामी देखापरेका थिए । तर एक महिना बितिसक्दा हैजा संक्रमित घटेका छैनन् ।
एक महिनासम्म किन रोकिएन हैजा संक्रमण ?
नारायणी अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार चार हप्तादेखि फैलिरहेको हैजालाई शून्यमा झार्न सकिएको छैन । ‘संक्रमण घट्नुपर्ने हो । तर घटेन । अहिले पनि हैजा संक्रमित अस्पतालमा भर्ना भइरहेका छन्,’ डा. दास भन्छन्, ‘यो गम्भीर चिन्ताको विषय हो ।’
उनका अनुसार दैनिक १५ देखि २० जनाको संख्यामा बिरामी अस्पताल आइरहेका छन् । पछिल्लो तथ्यांकअनुसार नारायणी अस्पतालमा हैजा संक्रमित १२ जना भर्ना भएर उपचाररत छन् । तर कुनै पनि बिरामीको अवस्था गम्भीर भने छैन ।
हैजाको प्रकोप एक महिनादेखि जारी रहँदा पनि पूर्ण रूपमा नियन्त्रणमा नआउनुले संकट निम्त्याइरहेको डा. दासले बताए ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, हैजाको प्रमुख स्रोत दूषित खानेपानी रहेको प्रष्ट देखिएको छ । ‘समस्याको जड नै खानेपानीको पाइपलाइनमा ढलको पानी मिसिनु हो,’ डा. सिंह भन्छन्, ‘निर्मूल पार्न सरकारसँगै आम नागरिकको पनि ध्यान जान सकेन ।’
वीरगञ्ज महानगरपालिका-१२ र १३ मा हैजा संक्रिमत देखिइरहेको उनले बताए ।
‘यो समस्या पुरानै ठाउँमा दोहोरिएको छ । सरकारी धाराको पानी प्रयोग भएको छ । आम नागरिकमा जनचेतना पनि पुर्याउन सकिएको छैन,’ सिंह भन्छन् ।
वर्षायाममा धेरै पानी पर्दा थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस पानीले बगाएर लैजान्छ । दिसाका जीवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण हुन्छ ।
डा. सिंहका अनुसार ढलको पानीमा रहेको हैजाको जीवाणु दुईदेखि तीन हप्तासम्म बाँच्न सक्छ । जीवाणु नालामा बस्ने र वर्षा भएपछि पानीको सतह माथि आउँदा खानेपानीको पाइपलाइनमा मिसिने गर्छ ।
चिकित्सकका अनुसार एक–दुई जनामा हैजा हुनुले पनि महामारीको संकेत गर्छ । किनकि, हैजाको जीवाणु तीव्र गतिमा फैलिन्छ । अधिकांश लक्षणविहीन संक्रमितले हैजा फैलाउने गर्छन् ।
‘खानेपानीको पाइपमा नाला मिसिएको छ । त्यसलाई सफा गरिएको छैन । त्यसैले हैजाको संक्रमण बारम्बार दोहोरिएको छ,’ डा. सिंह भन्छन् ।
यसअघि सरकारले क्लोरिन हालेर पानी शुद्धीकरण गरेको थियो । तर क्लोरिनको प्रयोग बन्द भएपछि फेरि हैजा महामारी बढेको हो ।