नेपाल–मङ्गोलियाबीच विद्यालय शिक्षामा चेस प्रवर्द्धनबारे छलफल
काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री तथा मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा विद्यालय शिक्षामा चेस खेलको प्रवर्द्धनबारे छलफल भएको थियो।
मन्त्री पोखरेलले शिक्षा र खेलकुद क्षेत्रमा, विशेषगरी चेसको विकासका लागि मङ्गोलियन सरकार र चेस फेडेरेसनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए।
पूर्वप्रधानमन्त्री जान्दानशातारले चेसलाई शिक्षाको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै विद्यालय तहमा चेस समायोजनका लागि नेपालसँग सहकार्य गर्न मङ्गोलिया तयार रहेको बताए।