लागूऔषधसहित काठमाडौँको नागपोखरीबाट चार जना नियन्त्रणमा
सशस्त्र प्रहरीले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट विभिन्न लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार विशेष सूचनाका आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१ का ४३ वर्षिय प्रभात तिवारी, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाहीको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी तथा ललितपुर बागडोल–४ बस्ने ५१ वर्षिय सविन श्रेष्ठलाई पक्राउ गरिएकाे हाे ।
उनीहरूको साथबाट २९६.७५ ग्राम ब्राउन सुगर, २२० चक्की ट्रामाडोल र १३० क्याप्सुल नाइट्रोभेट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, १ लाख ९८ हजार ३ सय ७५ रुपैयाँ नगद, १ हजार जापानी येनसहित विभिन्न विदेशी मुद्रा, दुई थान सञ्चार सेट, तीन थान ल्यापटप, एक थान प्रिन्टर, चार थान मोबाइल सेट तथा लागूऔषधमा मिसाइने २२ बोतल रसायन (केमिकल) समेत बरामद गरिएको छ।
उनीहरूले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका प्रभात तिवारी लागूऔषध मुद्दाका फरार अभियुक्तसमेत हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।