कांग्रेस, एमाले, माओवादी र रास्वपाका युवा नेता छलफलमा
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमबारे प्रतिनिधिसभाका युवा नेताहरूले छलफल थालेका छन्। संविधानविरोधी गतिविधि हुन थालेको भन्दै युवा नेताहरूले संयुक्त छलफल थालेको माओवादीका सांसद राजन दाहालले बताए।
उनले भने, ‘अहिले देश अफ्ठेरोमा छ। त्यसैले अब हामीले निकास दिनको लागि युवा नेताहरूले पहल गर्नुपर्छ भनेर छलफल थालेका हौँ। जेनजी आन्दोलन चलिरहेको बेलामा शीर्ष नेताहरूबाट विज्ञप्ति निकाल्नुको अर्थ हुँदैन भनेर हामी नै जुटेका हौँ।’
संयुक्त छलफलमा कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, माओवादीबाट माधव सापकोटा, राजन दाहाल र रास्वपाका शिशिर खनाल रहेको बताए। आज बेलुकासम्ममा संयुक्त विज्ञप्ति सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको बताए।