लोकप्रिय युट्युबर एल्विश यादवको घरमा दर्जनौँ राउन्ड गोली प्रहार
लोकप्रिय युट्युबर एल्विश यादवको गुरुग्रामस्थित घरमा आइतबार बिहान गोली प्रहार भएको छ। घटना बिहान ६ बजे भएको बताइएको छ।
यसबारे सेक्टर ५६ प्रहरी चौकीमा उजुरी दर्ता भएसँगै अनुसन्धान सुरु गरिएको छ। गोली चलाउँदा एल्विश घरमा उपस्थित थिएनन्। यद्यपि, उनकी आमा र कामदार घरमै थिए।
प्रहरी स्रोतका अनुसार आइतबार बिहान ५:३० देखि ६:०० बजेसम्म मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिले लगातार दुई दर्जनभन्दा बढी राउन्ड गोली चलाएका थिए। प्रहरीले आक्रमणकारीहरूको खोजी सुरु गरेको छ र यसको लागि क्षेत्र वरपरका सीसीटीभी क्यामेराहरू स्क्यान गरिँदैछ। अहिलेसम्म कुनै पनि समूहले यो गोलाबारीको जिम्मेवारी लिएको छैन।