संखुवासभामा बाढीका कारण १२५ बढी परिवार विस्थापित
काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले ३ वटा घर बगाएको छ।
करिब १ सय २५ भन्दा बढी परिवार विस्थापित भएका हुन्। पहिरोले खाँदबारी–११ आङ्ला गाउँमा ३ वटा घर बगाएको हो। बुधबार रातिको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालये संखुवासभाले जनाएको छ ।
पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका हुन्। त्यस्तै, चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ। खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा करिब १ सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नम्बर ६ का अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिनुभयो। खेतबारीमा ठूलाठूला ढुंगा थुप्रिएर बगरमा परिणत भएका छन्।
डुङ्डुगे आकाशे सिंचाइ र हिंगुवा कुलो सिंचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन्। धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ। खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन्। पहिरोबाट विस्थापित बनेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेका हुन्।
वर्षा धेरै भएकाले नदी किनारा र भीरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय संखुवासभाले आग्रह गरेको छ। उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको हो।
बाढीले करिब ३ करोड बढीको क्षति पारेको अनुमान गरिएको छ। क्षतिको तथ्यांक भने गाउँस्तरमा भइरहेको हो। त्यस्तै, चिचिला, मकालु , भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्ग अन्तर्गत मुढे–नुम र ठूलोढुंगा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।