सुदूरपश्चिम विश्वविद्यालयले अतिक्रमित ३०० बिघा जमिन खाली गराउँदै
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतको आंगिक क्याम्पसको अतिक्रमित सयौंं बिघा जमिन खाली गराउन पहल थालेको छ ।
सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आंगिक क्याम्पस अन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण हटाउन पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको जनाएको छ ।
२०६२ सालमा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि ३ सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भइरहेकाले सरोकार भएका निकायले पनि विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
टीकापुरस्थित क्याम्पस परिसरमा ३ सय ८० बिघा जग्गा रहे पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको उहाँको भनाइ छ । ३ सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको हो ।
विश्वविद्यालयले वास्तविक पीडितको पहिचान गरी व्यवस्थापनमा ध्यान दिएर विश्वविद्यालयको जमिन खाली गराउन सम्बन्धित निकायले अग्रसरता लिनुपर्नेमा जोड दिएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरिएको बताउनुभयो । २०६३ सालदेखि क्याम्पसको जमिन अतिक्रमण शुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताउनुभएको छ ।
उहाँले पछिल्लो समय गृह मन्त्रालयबाट सार्वजनिक जग्गासम्बधी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपूर्जासहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेश गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार क्याम्पस परिसरको जग्गामा करिब १५ सय परिवारले टहरा बनाएर बसेका छन् । उहाँले पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख भएको बताउनुभएको छ ।
यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन।