रतुवा खोलाले जीप बगाउँदा २ जनाको मृत्यु, एक घाइते
काठमाडौं । रतुवा खोलामा आएको बाढीले सोमबार राति बोलेरो जीप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी एक जना घाइते भएको प्रहरीले बताएको हो । इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको हो ।
सोमबार राति इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बाभित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको लु १ च ९४९१ नम्बरको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।
घाइते लिम्बुको उपचार भइरहेको छ । खोलाले बगाउँदा चालकसहित ३ जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।
सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।