अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम र नगद १० हजार ४ सय रुपैयाँसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २० वर्षीय संगीता चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-८ वुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय २० मिलिग्राम र २५ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय नविन चौधरीलाई पनि शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले चौधरीलाई सोही पदार्थ र नगदसहित पक्राउ गरेको हो । सोही घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।