सरकारले प्रेस स्वतन्त्रताको हनन् गरेको छैन, कांग्रेसले सहकारीको मुद्दामा सडक आन्दोलन गर्न जरूरी छैन: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताउनुभएको छ ।
एमाले मोरङ जिल्ला कमिटीले विराटनगर-११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रतासँग सम्बन्धित नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो,-'नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरंकुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कसैको रिसइबिले होइन नागरिकता सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् । यसलाई गलत रुपमा प्रस्तुत गर्नुहुँदैन । '
नेपाली कांग्रेसले सहकारीको मुद्दामा शुक्रबारदेखि सडकमा आन्दोलन गर्नु जरुरी नभएको पनि अध्यक्ष ओलीले धारणा राख्नुभएको हो ।