महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतिक्षामा रहेका छन् ।
काठमाडौं । महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतिक्षामा रहेका छन् ।
समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका हुन् । बुधबार दिउँसो आगलागी हुँदा घर जलेपछि उनीहरूको बिल्ली भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका १ सय घर जलेर खरानी भएका छ्न् ।
अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले भने राहतका लागि प्रयास भइरहको जनाएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल समेत गर्नुभएको हो ।
मटिहानी नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ । हाल नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका हुन् । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको जनाएको छ ।
महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताउनुभयो । केही दिनअघि पनि महोत्तरीका विभिन्न ठाउँमा आगलागी भएको थियो । गर्मीयाम शुरु भएसँगै देशका विविध भू-भागमा आगलागीका घटना दैनिक रुपमा भइरहेका छन् ।