एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक आजै बुधवार दिउँसो ३ बजेका लागि बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवार र त्यसपछि पार्टीमा देखिएको असन्तुष्टिका साथै पार्टी विधानबारे छलफल हुनेछ । नेकपा एकीकृत समाजवादीमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटप्रति असन्तुष्टि देखिएको छ ।
उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामाको घोषणा नै गरेका छन् । ‘समग्रमा राष्ट्रियसभाको जुन परिकल्पना गरिएको थियो । दलहरू त्यो भन्दा विपरीत १८० डिग्रीमा गएका छन् । यसले हाम्रो पार्टीमा मात्रै होइन हरेक पार्टीमा असन्तुष्टि देखिएको छ’, खनालले भने, ‘हाम्रो पार्टीमा देखिएको असन्तुष्टिबारे सचिवालय बैठकमा छलफल हुन्छ ।
नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनसँगको भागबन्डामा माघ ११ मा हुने १९ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई सिट पाएको छ । त्यसमा सो पार्टीले बागमती प्रदेशको दलित कोटामा घनश्याम रिजाल (दोलखा) र कर्णाली प्रदेश महिला कोटामा सावित्री मल्ल (दैलेख)लाई उम्मेदवार बनाएको छ ।