शेखरले बोलाए आफू पक्षीय नेताको बैठक
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् । मंगलबार (मंसिर २६ गते ) दिउँसो बस्ने गरि बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय नभइसकेको उनले बताए ।
‘समूहको बैठक नबसेको धेरै भएको थियो । महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक राख्नुभएको हो,’ थपलियाले भने ।
बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ । ‘महामन्त्री गगन थापाले पनि आउँछु भन्नुभएको छ,’ थपलियाले भने ।